NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ ञलागा तृतीया - १८

पृष्ठभूमि

नेपालमा सदियौँदेखि मुस्लिम समुदायको बसोबास रहँदै आएको पाईन्छ।२०६८ को जनगणना अनुसार नेपालमा कुल जनसंख्याको करिब ४.४ प्रतिशत मुस्लिमहरु रहेका छन् । मुस्लिम समुदायको हक, हितको संरक्षण र सम्बर्द्धन तथा सशक्तिकरणका लागि नेपालको संविधान २०७२ को भाग २७ को धारा २६४ मा संवैधानिक आयोगको रुपमा मुस्लिम आयोगको व्यवस्था भए बमोजिम मुस्लिम आयोग ऐन, २०७४ अनुसार मुस्लिम आयोग गठन भएकोमा सम्माननीय राष्ट्रपतिज्यूबाट मिति २०७५।१२।०७ मा यस आयोगको अध्यक्ष पदमा माननीय समिम मियाँ अन्सारी नियुक्ति तथा पदबहाली हुनु भएको र यस आयोगका चार सदस्य पदहरुमध्ये मिति २०७७।१०।२१ गते माननीय महमदिन अली र माननीय मिर्जा अर्सद बेग र मिति २०७८।०३।१० मा माननीय मोहमद समशुल हक नियुक्ति तथा मिति २०७८।०३।११ मा पदवहाली हुनु भएको र यस आयोगको एक जना सदस्यको पद हाल सम्म रिक्त रहेको अवस्था छ ।

यस आयोगको मुख्य कार्य मुस्लिम समुदायको हकहितको संरक्षण र सम्बर्द्धन तथा सशक्तिकरणका लागि नेपाल सरकारलाई नीतिगत, कानूनी तथा संस्थागत सुझाव दिने, आयोगले गरेका सिफारिस वा दिएका सुझाव कार्यान्वयनको सम्बन्धमा अनुगमन गर्ने, मुस्लिम समुदायको हकहितको संरक्षण र सम्बर्द्धन तथा सशक्तिकरणको लागि चेतनामूलक कार्यक्रम सञ्चालन गर्नु रहेको छ।

नेपालको सन्दर्भमा मुस्लिम समुदाय मानव विकास सूचकाङ्कको दृष्टिकोणले सबैभन्दा पछाडि रहेको छ। यस समुदाय तथा व्यक्तिहरूको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासका लागि आर्थिक सशक्तिकरण तथा सीप विकास सम्वन्धी तालिम, शिक्षा, स्वास्थ्य र रोजगारमूलक लक्षित कार्यक्रम तथा सार्वजनिक क्षेत्रको रोजगारीमा पहुँच, मुस्लिम समुदायको भाषा, लिपि, संस्कृति, इतिहास, परम्परा, साहित्य, कलाको संरक्षण र संवर्द्बनको साथै लैगिंक विभेद तथा हिंसा न्यूनीकरण सम्बन्धी कार्यक्रम सञ्चालन गर्नु अत्यावश्यक रहेको छ। यसको लागि तीन तहको सरकारले मुस्लिम समुदायको सामाजिक, आर्थिक, शैक्षिक एवं साँस्कृतिक विकास र उत्थानको लागि विशेष लक्षित नीति तथा कार्यक्रम तर्जुमा गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने देखिन्छ ।

यस आयोगबाट आ. व. २०७८।०७९ मा गरेका काम कारबाहीको वार्षिक प्रतिवेदन नेपालको संविधान २०७२ को भाग ३२ को धारा २९४ तथा मुस्लिम आयोग ‌ऐन २०७४ को दफा २२ बमोजिम सम्माननीय राष्ट्रपतिज्यू समक्ष पेश गर्नुपर्ने व्यवस्था अनुसार बार्षिक प्रतिवेदन तयार गरिएको छ ।

१.२ सोच सुखी, समृद्व र आत्मनिर्भर मुस्लिम समुदाय । १.३ उद्देश्य · मुस्लिम समुदायको हक, हितको संरक्षण र सम्बर्द्धन तथा सशक्तीकरण गर्ने, · मुस्लिम समुदायको आर्थिक, सामाजिक, राजनैतिक क्षेत्रमा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने, · मुलुकमा उपलब्ध स्रोत तथा साधनहरुमा मुस्लिम समुदायको पहुँच वृद्धि गर्ने, · ऐतिहासिक, साँस्कृतिक एवं धार्मिक क्षेत्रको संरक्षण र सम्बर्द्धन गर्ने, · लैङ्गिक विभेद तथा हिंसाको न्यूनीकरण गर्ने।

१.२ सोच

सुखी, समृद्व र आत्मनिर्भर मुस्लिम समुदाय ।

१.३ उद्देश्य

मुस्लिम समुदायको हक, हितको संरक्षण र सम्बर्द्धन तथा सशक्तीकरण गर्ने,

मुस्लिम समुदायको आर्थिक, सामाजिक, राजनैतिक क्षेत्रमा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने,

मुलुकमा उपलब्ध स्रोत तथा साधनहरुमा मुस्लिम समुदायको पहुँच वृद्धि गर्ने,

ऐतिहासिक, साँस्कृतिक एवं धार्मिक क्षेत्रको संरक्षण र सम्बर्द्धन गर्ने,

लैङ्गिक विभेद तथा हिंसाको न्यूनीकरण गर्ने।

१.४ आयोगको काम कर्तब्य र अधिकार

नेपालको संविधानको भाग २७ को धारा २६४ तथा मुस्लिम आयोग ऐन, २०७४ दफा ७ अनुसार आयोगको काम कर्तब्य र अधिकार देहाय बमोजिम रहेको छ

(क) मुस्लिम समुदायको समग्र स्थितिको अध्ययन गरी तत्सम्बन्धमा गर्नुपर्ने नीतिगत, कानूनी र संस्थागत सुधारका विषयमा नेपाल सरकार समक्ष सिफारिस गर्ने ।

(ख) मुस्लिम समुदायको हकहितको संरक्षण र संवर्धन तथा त्यस्तो समुदायको सशक्तिकरणका लागि राष्ट्रिय नीति तथा कार्यक्रमको तर्जुमा गरी कार्यान्वयनका लागि नेपाल सरकार समक्ष सिफारिस गर्ने ।

(ग) मुस्लिम समुदायको हकहितको संरक्षण र संवर्धन तथा त्यस्तो समुदायको सशक्तीकरणका सम्बन्धमा भएका व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन भए नभएको विषयमा अध्ययन अनुसन्धान गरी प्रभावकारी कार्यान्वयन गर्न चाल्नु पर्ने कदमका सम्बन्धमा नेपाल सरकारलाई सुझाव दिने ।

(घ) मुस्लिम समुदायको हकहितको संरक्षण र संवर्धन तथा त्यस्तो समुदायको सशक्तीकरणका सम्बन्धमा भइरहेका नीतिगत, कानूनी तथा संस्थागत व्यवस्थामा गर्नुपर्ने सुधारका सम्बन्धमा नेपाल सरकारलाई सुझाव दिने ।

(ङ) मुस्लिम समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको समीक्षा, अनुगमन तथा मूल्याङ्कन गर्ने ।

(च) आयोगले गरेका सिफारिस वा दिएका सुझाव कार्यान्वयनको सम्बन्धमा अनुगमन गर्ने वा गराउने ।

(छ) मुस्लिम समुदायभित्र आर्थिक वा सामाजिक रूपमा पछाडि परेका व्यक्तिको विकास र सशक्तीकरणका लागि विशेष कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने ।

(ज) मुस्लिम समुदायको भाषा, लिपि, संस्कृति, इतिहास, परम्परा, साहित्य, कलाको अध्ययन अनुसन्धान गरी त्यस्तो भाषा, लिपि, संस्कृति, इतिहास, परम्परा, साहित्य, कलाको संरक्षण र विकासको लागि कार्यक्रम तर्जुमा गरी नेपाल सरकारलाई सिफारिस गर्ने ।

(झ) मुस्लिम समुदायको हकहितको संरक्षण र संवर्धन तथा त्यस्तो समुदायको सशक्तिकरणको लागि चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने ।

(ञ) सबै प्रकारको शोषणको अन्त्य गर्न र मुस्लिम समुदायको सशक्तीकरणको लागि कार्यक्रम तर्जुमा गरी नेपाल सरकारलाई सिफारिस गर्ने ।

(ट) मुस्लिम समुदायको सम्बन्धमा नेपाल पक्ष भएको अन्तर्राष्ट्रिय सन्धि सम्झौता कार्यान्वयन भए नभएको अनुगमन गरी नेपाल सरकारलाई कार्यान्वयनको लागि आवश्यक सिफारिस गर्ने वा सुझाब दिने ।

(ठ) मुस्लिम समुदायको अधिकार उलङ्घन गर्ने व्यक्ति वा संस्थाका विरुद्ध उजुरी सङ्कलन गरी सो उपर छानबिन तथा तहकिकात गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने ।

(ड) मुस्लिम समुदायको पहिचानका सम्बन्धमा विस्तृत अध्ययन र अनुसन्धान गरी थर सूचीकृत गर्न नेपाल सरकारलाई सिफारिस गर्ने ।

(ढ) मुस्लिम समुदायको भौतिक, अभौतिक संस्कृतिको संरक्षण र संवर्धनका लागि जिवित सङ्ग्रहालय स्थापना तथा उदगमस्थलको खोज अनुसन्धान गरी त्यस्ता पुरातात्विक र ऐतिहासिक संरचना, वस्तु र स्थलहरूको संरक्षण र संवर्धनका लागि नीति तथा कार्यक्रम तर्जुमा गर्ने र कार्यान्वयनका लागि नेपाल सरकारलाई सिफारिस गर्ने ।

(ण) मुस्लिम समुदायको हकहितको संरक्षण, संवर्धन र सशक्तीकरणका लागि नेपाल सरकार र अन्य सङ्घ संस्थाहरूले सञ्चालन गर्ने चेतनामूलक कार्यक्रमहरूको समीक्षा, अनुगमन तथा मूल्याङ्कन गर्ने ।

(त) मुस्लिम समुदायको पिछडिएको अवस्था र हालको शैक्षिक, राजनैतिक, सामाजिक तथा आर्थिक दुरावस्थाको अध्ययन अनुसन्धान गरी समुदायको विकासका लागि नेपाल सरकारलाई सुझाव दिने ।

(थ) आयोगका अध्यक्ष, सदस्य तथा कर्मचारीको लागि आचारसंहिता बनाई लागू गर्ने

(द) आयोगको वार्षिक योजना र कार्यक्रम स्वीकृत गर्ने ।